के बुद्धलाई चिन्‍नुहुन्छ र ? बुद्ध नेपालमै जन्मेका हुन् र ?

शान्तिका अग्रदुत भनेर बेला बेलामा खोकिरहन्छौँ र भन्छौँ, बुद्ध नेपालमै जन्मेका हुन्, बुद्ध भगवान हुन् । मैले पढे र सुने अनुसार बुद्धले त शान्तिको बाटो हिड्न सिकाएका थिए । खुशी बाहिर हैन, आफ्नै मनभित्र खोज्न सिकाएका थिए । यदि बुद्ध नेपालमै जन्मेको भए त हाम्रा भगवानका उपदेश हामीले नै पालना गर्नु पर्ने है न र ? देश आजका दिनसम्म शान्तिको बाटो हिँडिसक्नु पर्ने है न र ? सारा नेपाली खुशी हुनुपर्ने है न र ?

सारा संसारले भगवानको रुपमा पुजेका बुद्धले, हत्या, हिंसा, चोरी डकैती गर्नु हुँदैन भनेर पो सिकाएका थिए त । यदि बुद्ध नेपालमै जन्मेका भए सारा नेपालीले हत्या, हिंसा र चोरी डकैतीबाट टाढा हुनु पर्ने है न र ? निर्मला पन्तको हत्या नहुनु पर्ने है न र ? नेपालीबाट नेपाली लुटिनु नपर्ने है न र ?

भगवान बुद्धले, सत्यको बाटो हिड्न पो सिकाएका थिए त । यदि बुद्ध नेपालमै जन्मेका भए, हाम्रो देश भष्ट्रचार जस्तो महारोगबाट टाढा हुनुपर्ने है न र ? सबैमा जिम्मेवारी र ईमान्दारीता हुनुपर्ने है न र ? सँधै छलकपट र जालझेल नुहुन पर्ने है न र ? पैँसाका लागि हजारौँ चेली नबेचिनु पर्ने है न र ? देशमा सुशासन भई देशको कायापलट हुनुपर्ने है न र ?

बुद्धले उपदेश दिएका छन्,

  • शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।
  • आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।
  • यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।
  • हमी आफ्नो रिषका लागि होइन रिषद्धारा दण्डित हुन्छौँ ।
  • हजारौँ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो आफैलाई चिन्नु यही नै तिम्रो विजय हो ।

यसैगरी भगवान बुद्धले भनेका छन्,

  • हाम्रो मस्तिष्क नै सबैथोक हो ।
  • हामी जे सोच्दछौ त्यही बन्दछौ ।
  • हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
  • धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।
  • स्वास्थ्य सबैभन्दा महान् उपहार हो ।
  • संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।
  • विगतलाई ध्यान नदेउ, भविष्यको चिन्ता नगर, वर्तमानमा आफ्नो ध्यान लगाउ ।
  • जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन ।

यदि बुद्धलाई चिनेको भए, नेपालमै जन्मेका भए, उल्लेखित बुद्धका उपदेशहरु व्यवहारमा लागु गर्नु पर्ने है न र ?

बुद्धका कुनैपनि उपदेश थाहा नपाएका र थाहा पाएर पनि व्यवहारमा लागु नगर्नुभएका तर बुद्ध नेपालमै जन्मेका हुन्, बुद्ध भगवान हुन् भनेर छाती फुलाउने सबैप्रति मुर्दावाद ।। सामाजिक सञ्जलामा फोटो राख्‍नकै लागि र अरुलाई देखाउनकै लागि बुद्धको फोटोमा दुई/चार गुच्छा फूल चढाउँदैमा हुनेवाला केही छैन् ।

आउनुहोस् बुद्ध नेपालमै जन्मेका हुन् भनेर शब्दद्धारा हैन्, व्यवहारबाट संसारलाई चिनाऔँ । यदि बुद्ध नेपालमै जन्मेका हुन् र बुद्ध नेपालमा जन्मेको प्रति हामी गर्व गर्दछौँ भने आजबाट यो प्रण गरौँ र व्यवहारमा लागु गरौँ की, म आजबाट, हिंसा गर्दिन्, साँचो बोल्छु, अर्काको कुभलो चिताउँदिन्, खुशी बाहिर हैन् आफैभित्र खोज्दछु, भष्ट्रचार गर्दिन्, जिम्मेवार र ईमान्दार रहन्छु, यो देशलाई शान्तिमय बनाउनका लागि म जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु । वस् यत्ति गरौँ ।।

जय मानवता, जय मान्छे

RAM B SHAM, Motivational Trainer, Life Coach

Share For Big Support & Love...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments